७ नम्बर प्रदेश संसदले १ अर्व २ करोड ५ लाख बराबरको आंशिक बजेट प्रस्तुत

धनगढी,–प्रदेश नं. ७ को चालु आवको आंशिक बजेट प्रस्तुत भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालेहिजो (आइतवार) बसेको प्रदेश संसद बैठकको विशेष समयमा १ अर्व २ करोड ५ लाख बराबरको आंशिक बजेट प्रस्तुत गरेका छन् ।

मन्त्री बोहराले आफ्नो बजेट व्यक्तव्यमा संघीयता कार्यान्वयनमा सहयोग गर्ने, प्रदेशस्तरीय निकायहरुको संरचनाको व्यवस्थापन गर्ने, दिगो, समावेशी र उच्चदरको आर्थिक वृद्धि हासिल गर्न प्रस्थानविन्दु तय गर्ने, सबै क्षेत्रको समानुपातिक विकास गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र विकास प्रक्रियामा अपनत्वबोध गराउन जनसहभागिता सुनिश्चित गराउने बजेटको उदेश्य रहेको उल्लेख गरे ।

त्यस्तै उनले संघीयता कार्यान्वयनका लागि कानूनी तथा संस्थागत संरचना निर्माण, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालिन आवधिक योजना निर्माण गर्ने बजेटको प्राथमिकताको विषय भएको पनि बताए ।

साथै गरिबी न्यूनीकरण गर्न लक्षित कार्यक्रम, कृषिमा आत्मनिर्भरता, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, विकासका पूर्वाधारहरुको प्रारुप तय गर्ने, जल, जंगल, जमिन, जडिबुटी, उद्योग र पर्यटनको वैज्ञानिक विकास गर्ने आर्थिक असमानता हटाई समावेशी विकास गर्ने र प्रचुर सम्भावना भएका क्षेत्र पहिचान गर्ने पनि चालु बजेटको प्राथमिकताको क्षेत्र भएको मन्त्री बोहराले उल्लेख गरे ।

त्यस्तै, बजेट भाषणमार्फत मन्त्री बोहराले कृषि क्षेत्रको विकासको लागि ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने मूल नाराका सहित ‘मुख्यमन्त्री कृषि कार्यक्रम’ सञ्चालन गरिने बताए । जसको लागि चालु आवमा ५० लाख बिनियोजन गरेको उनले जनाए । ९ वटै जिल्लामा शित भण्डार स्थापना गर्ने पनि उनको भनाई थियो ।

मुख्यमन्त्री राहत कोष, ५० लाखको आकस्मिक कोष खडा गर्ने बताइएको छ । मुख्यमन्त्रीबाट सोझै जनताको गुनासोहरु सुन्न ‘हेलाे सीएम कार्यक्रम’ सञ्चालन गरिने समेत मन्त्री बोहराले आफ्नो भाषणमा उल्लेख गरे ।

पाँच वर्षभित्र प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाइने, ‘फोहरमुक्त स्वच्छता, प्रदेश नं. ७ को प्रतिवद्धता’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

एकिकृत पूर्वाधार विकास गरी नमूनाको रुपमा स्मार्ट भिलेज र नयाँ शहर स्थापना गर्न सम्भाव्यता अध्ययन सुरु गर्न बजेट बिनियोजन भएको मन्त्री बोहराले बताए ।
लगानीमैत्री वातावरण निर्माण संगै प्रदेशमा एक व्यक्ति एक बैंक खाताको अवधारणालाई सार्थकता प्रदान गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने मन्त्री बोहराले आफ्नो भाषण समावेश गरे ।

त्यस्तै, थारु समुदायमा देखा परेको सिकलसेल एनिमिया रोगको औषधोपचारको लागि १० लाख बिनियोजन गरिएको छ । मुक्तकमैया, हलिया, भूमीहिन, सुकुमवासी, बादी समुदायको व्यवस्थापनको लागि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

संसद बैठकपछि बजेटवारे आयोजित पत्रकार सम्मेमलनमा मन्त्री बोहराले बिनियोजित बजेट प्रदेशको ऐतिहासिक, विकासको जग र जनमुखी भएको दावी गरे । बजेटलाई मुर्तरुप दिन बजेटलाई कनिका छरे झंै विवरण गर्ने प्रथाबाट जोगाएको पनि मन्त्री बोहराको भनाई थियो ।

सम्बन्धित सिर्शक
कमेन्टहरु
लोड हुदैछ...